एक महिना नबित्दै सरकारले फेरि बढायाे सार्वजनिक यातायातको भाडा, आजैदेखि नयाँ दर लागू हुने
काठमाडाैं,बैशाख १६ । यातायात व्यवस्था विभागले इन्धनको मूल्यमा भएको वृद्धिलाई आधार मान्दै सार्वजनिक यातायातको भाडामा पुन: वृद्धि गरेको छ।
विभागले आज बुधबारदेखि नै लागू हुने गरी अन्तरप्रदेश सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा समायोजन गरेको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वैशाख १२ गते दिएको सैद्धान्तिक सहमतिका आधारमा विभागले यो निर्णय लिएको हो। नयाँ व्यवस्था अनुसार अन्तरप्रदेश चल्ने यात्रुवाहक सवारी साधन, पहाडी बाटोमा चल्ने मालवाहक सवारी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनहरूमा समान ५ प्रतिशतका दरले भाडा बढाइएको छ।
यसअघि गत चैत २५ गते मात्रै भाडा वृद्धि गरिएको थियो, जुन अहिले एक महिना नबित्दै फेरि बढाइएको हो।
विभागले हाल डिजेलको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ कायम रहेको जानकारी दिँदै सोही अनुसार भाडा समायोजन गरिएको जनाएको छ।
यद्यपि, यो बढेको भाडा विद्युतीय सवारी साधनको हकमा भने लागू हुने छैन। विभागले स्पष्ट पारेको छ कि यदि कुनै विद्युतीय सवारी साधनले भाडा बढाएको पाइएमा उनीहरूमाथि कडा कारबाही गरिनेछ।

