सांसद महावीर पुनद्वारा सम्पत्ति विवरण सार्वजनिक
काठमाडौँ, वैशाख १६ । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद महावीर पुन ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ। पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहनुभएका पुनले सामाजिक सञ्जालमार्फत विवरण सार्वजनिक गर्नुभएको हो।
उहाँले सार्वजनिक गर्नुभएको विवरणअनुसार श्रीमतीको नाममा करिब तीन तोला सुन रहेको छ, जुन इष्टमित्रबाट उपहारस्वरूप प्राप्त भएको उल्लेख गरिएको छ। साथै नेपाल बैंक लिमिटेड मा चार लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंक मा २५ लाख रुपैयाँ नगद रहेको जनाइएको छ। उक्त रकम निर्वाचन अभियानका क्रममा सहयोगस्वरूप संकलन गरिएको उहाँले बताउनुभएको छ।
निर्वाचनपछि बेनीमा सम्पर्क कार्यालय सञ्चालन गरी जिल्लावासीलाई सेवा सहजीकरण गर्ने योजना सार्वजनिक गर्नुभएका पुनले हाल उक्त कार्यालय सञ्चालनमा ल्याइसक्नुभएको छ। साथै कास्की जिल्लामा विभिन्न कित्तामा करिब २७ रोपनी १५ आना चार पैसा जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ।
सामाजिक सञ्जालमा उहाँले आफूले शिक्षामन्त्री हुँदा पनि सम्पत्ति विवरण बुझाएको तर सार्वजनिक नभएको उल्लेख गर्दै यसपटक संसद सचिवालयले सार्वजनिक नगर्न सक्ने आशंकाका कारण पहिले नै सार्वजनिक गरेको बताउनुभएको छ। साथै आफ्नो सम्पत्तिबारे उठेका विभिन्न टिकाटिप्पणीप्रति लक्षित गर्दै पुनले छानबिन गर्न समेत आग्रह गर्नुभएको छ।

