पेट्रोलियम पदार्थ सस्तो, हवाइ इन्धन महँगियो
काठमाडौँ,बैशाख १८। पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ भने हवाइ इन्धनको मूल्य बढाइएको छ। नेपाल आयल निगमले गए राति १२ बजेदेखि लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलमा १२ रुपैयाँले कमी गरिएको छ। यद्यपि, हवाइ इन्धनको मूल्य भने बढाइएको छ। आन्तरिकतर्फ हवाइ इन्धनमा प्रतिलिटर ७ रुपैयाँ वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँमा प्रतिकिलोलिटर ४६ अमेरिकी डलरले मूल्य बढाइएको निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ कायम भएको छ। यसअघि काठमाडौँ, दिपायल र पोखरामा पेट्रोलको मूल्य २१९ रुपैयाँ थियो। यस्तै, सुर्खेत र दाङमा पेट्रोलको मूल्य २ रुपैयाँ घटेर २१६ रुपैयाँ कायम भएको छ।
निगमले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य समायोजनका आधारमा मूल्य हेरफेर गरिएको जनाएको छ।


