बाली लगाउनुअघि नै समर्थन मूल्य तोकिने
काठमाडौं,बैशाख २१ । सरकारले अब प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य बाली रोप्नुअघि नै निर्धारण गर्ने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नयाँ निर्देशिका, २०८२ लागू गर्दै यस्तो व्यवस्था गर्न लागेको हो।
निर्देशिकाअनुसार धान, मकै, गहुँ, कोदो लगायत बालीको मूल्य अग्रिम तय गरिनेछ, जसका लागि मङ्सिरदेखि वैशाखसम्म विभिन्न चरणमा अध्ययन, विश्लेषण र सिफारिस प्रक्रिया पूरा गरिनेछ।
गहुँ र उखुका लागि छुट्टै कार्यतालिका बनाएर सर्वेक्षण, प्रतिवेदन र अन्तिम सिफारिस निश्चित समयसीमाभित्र गर्ने व्यवस्था गरिएको छ। यो व्यवस्थाले किसानलाई बाली छनोट र उत्पादन योजना बनाउन सहज बनाउने, बजार जोखिम घटाउने तथा उचित मूल्य सुनिश्चित गर्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।
सरकारका अनुसार यस कदमले कृषिमा लगानी र उत्पादन बढाउन सहयोग पुर्याउनेछ भने मूल्य अस्थिरता घटाएर किसानलाई न्यूनतम नाफा सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।

