‘आशा जगाउने बजेट’ ल्याउने अर्थमन्त्री वाग्ले घोषणा
काठमाडौँ,बैशाख २१— अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि आशा जगाउने किसिमको बजेट ल्याइने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रलाई विकासको प्रमुख सारथी बनाउने प्रतिबद्धता जनाए।
मन्त्री वाग्लेले आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा लगानी विस्तारका लागि निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहने उल्लेख गरे। उनले मन्त्रिपरिषद्मा निजी क्षेत्रको संरक्षण तथा प्रवर्द्धनसम्बन्धी रणनीतिक प्रस्तावसमेत पेस गरिएको जानकारी दिए।
दीर्घकालीन रूपमा करिब १०० अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने लक्ष्य राखिएको उल्लेख गर्दै उनले सो लक्ष्य हासिल गर्न निजी क्षेत्रको साथ अपरिहार्य रहेको बताए। “सरकारको स्रोत सीमित छ, तर निजी क्षेत्रको लगानीले नै अर्थतन्त्र विस्तार गर्छ,” उनले भने।
उनका अनुसार सरकारको खर्च कुल गार्हस्थ उत्पादन (जीडिपी) को करिब २५ देखि ३० प्रतिशत मात्र रहेकाले बाँकी आर्थिक गतिविधि निजी क्षेत्रमार्फत सञ्चालन हुँदै आएको छ। यसलाई अझ सुदृढ बनाउन नीति तथा कानुनी सुधार अघि बढाइने उनले बताए।
मन्त्री वाग्लेले आर्थिक प्रगतिमा बाधा बनेका करिब दुई दर्जन ऐन खारेज गर्ने योजना अघि बढाइएको जानकारी दिँदै राजस्व प्रशासन सुधार गरेर कर प्रणालीलाई उद्यममैत्री र लगानीमैत्री बनाइने स्पष्ट पारे।सरकारले सामाजिक बजार अर्थतन्त्रको अवधारणाअनुसार नीतिहरू अघि बढाउने बताउँदै उनले निजी क्षेत्रको नवप्रवर्तन र गतिशीलतालाई प्रोत्साहन गरिने बताए। साथै, शिक्षा, स्वास्थ्य, यातायात र सामाजिक सुरक्षामार्फत आयको समतामूलक वितरण सुनिश्चित गरिने उनको भनाइ छ।

