विधवाको पुनर्विवाहमा सम्पत्ति फिर्ता गर्ने व्यवस्था खारेज



काठमाडौँ, वैशाख २२ । सर्वोच्च अदालतले विधवाले पुनर्विवाह गरेपछि पूर्व श्रीमानबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज गरेको छ।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल, डा. मनोजकुमार शर्मा र डा. नहकुल सुवेदीको संवैधानिक इजलासले मुलुकी देवानी संहिता, २०७४ को दफा २१४(२) असंवैधानिक ठहर गर्दै खारेज गरेको हो।

उक्त दफामा विधवाले पुनर्विवाह गरेमा अंशबापत पाएको सम्पत्ति पूर्व पति पक्षका सन्तानलाई वा सन्तान नभए स्वयंले फिर्ता गर्नुपर्ने व्यवस्था थियो।

महिला कानुन र विकास मञ्च तथा वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले उक्त व्यवस्था संविधानको समानताको हक विपरीत भएको दाबी गर्दै दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले सो प्रावधान हटाएको हो।

प्रतिक्रिया दिनुहोस्