प्रधानमन्त्री बालेन्द्र साह (बालेन) द्वारा शिक्षालय र कर्मचारीतन्त्रमा दलगत राजनीति निषेध गर्ने घोषणा
काठमाडौं,बैशाख २२— प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको एक विस्तृत स्टाटसमा शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिबाट मुक्त गर्ने स्पष्ट अडान प्रस्तुत गरेका छन्।
उनले लामो समयदेखि विद्यार्थी संगठन र कर्मचारीतन्त्रमा दलगत हस्तक्षेप बढ्दै गएको भन्दै यसले योग्यता, क्षमता र पेशागत मूल्य प्रणाली कमजोर बनाएको टिप्पणी गरेका छन्। उनका अनुसार वर्षौंदेखि धेरै विद्यार्थी तथा कर्मचारी संगठनहरू हितमुखीभन्दा पनि राजनीतिक दलका “स्लिपर सेल” जस्ता बनेको आरोप छ। स्टाटसमा उनले योग्यता भन्दा पहुँच, क्षमता भन्दा राजनीतिक झण्डा र झोला प्राथमिकतामा पर्दा प्रणालीप्रति जनविश्वास कमजोर भएको उल्लेख गरेका छन्।
बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा नयाँ संगठन निर्माणका लागि नभई प्रणाली सुधारका लागि गरिएको स्पष्ट पारेका छन्। उनले दलगत संगठन थपेर समस्या समाधान नहुने भन्दै विगतका अभ्यासहरूले त्यसलाई प्रमाणित गरिसकेको दाबी गरेका छन्। उनका अनुसार अब शिक्षालयमा दलको झण्डा निषेध र कर्मचारीतन्त्रमा दलगत झोला निषेध गर्ने नीतिगत आवश्यकता छ। उनले यसले अधिकार खोस्ने नभई पेशागत स्वतन्त्रता र मर्यादा बलियो बनाउने दाबी गरेका छन्।
स्टाटसमा नियुक्ति, सरुवा र बढुवामा राजनीतिक निकटता होइन, विधि, क्षमता र दक्षतालाई आधार बनाउनुपर्नेमा जोड दिइएको छ। उनले विद्यार्थीले राजनीति नेताको भीडबाट होइन, गुरुबाट सिक्नुपर्ने र कर्मचारीले कुनै दलको होइन, जनताको सेवा गर्नुपर्ने उल्लेख गरेका छन्।
बालेनले यो पहल कुनै दलविरुद्धको लडाइँ नभई प्रणाली र भविष्य जोगाउने प्रयास भएको बताएका छन्। उनका अनुसार शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत प्रभावबाट मुक्त गर्दै संस्थागत प्रणाली बलियो बनाउने लक्ष्य लिइएको हो।
अन्त्यमा उनले सरकार जनचाहनाअनुसार काम गर्न आएको भन्दै नागरिकको साथ र विश्वास आवश्यक रहेको उल्लेख गरेका छन्। उनले “परिवर्तन भाषणले होइन, निर्णयले आउँछ” भन्ने सन्देशसमेत दिएका छन्।

