स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जना पक्राउ
सर्लाही, असार ४ – सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित झिम पुल नजिकबाट स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकलमाथि शंकाका आधारमा जाँच गर्ने क्रममा ठूलो परिमाणमा नगद बरामद गरेको हो।
पक्राउ पर्नेमा रामनगर गाउँपालिका–३ निवासी २८ वर्षीय गुडु कुमार यादव र २४ वर्षीय रुपेश कुमार यादव रहेका छन्। उनीहरू सवार म.प्र. ०५–००१ प ११०६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा नगद फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट एक हजार दरका २ हजार ५०० थान (२५ लाख रुपैयाँ), पाँच सय दरका १ हजार ३०० थान (६ लाख ५० हजार रुपैयाँ) तथा एक सय दरका ५०० थान (५० हजार रुपैयाँ) गरी कुल ३२ लाख रुपैयाँ बरामद गरिएको हो।
बरामद रकमको स्रोत खुलाउन नसकेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नगद रकम, मोटरसाइकल तथा पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

