स्वदेशमै भविष्य देख्न चाहन्छन् रास्वपा महाधिवेशनका सहभागी
चितवन, असार ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधि तथा शुभेच्छुकहरूले सुशासन, रोजगारी, राष्ट्रियता, कृषि विकास र भ्रष्टाचार नियन्त्रणलाई प्रमुख प्राथमिकताका रूपमा अघि सारेका छन्।
भरतपुरमा आइतबारदेखि सुरु भएको महाधिवेशनलाई सहभागीहरूले केवल संगठनात्मक प्रक्रिया नभई देशको राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएका छन्। महाधिवेशनस्थलमा भेटिएका प्रतिनिधिहरूले युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने, उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नुपर्ने तथा सुशासन स्थापित गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
हेटौँडाका शिवराम रिजालले युवाहरू रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गरी स्वदेशमै भविष्य देख्ने वातावरण बनाउनुपर्ने बताए। बागलुङका परेश्वर कँडेलले राष्ट्रिय हितका विषयमा पार्टीको स्पष्ट र दृढ धारणा आवश्यक रहेको उल्लेख गर्दै कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरे।
नवलपरासीकी शुभद्रा पराजुली अधिकारीले पार्टीभित्र एकता र सामूहिक नेतृत्वको आवश्यकता औँल्याउँदै नयाँ पुस्ताको ऊर्जा र अनुभवी पुस्ताको मार्गदर्शनलाई सन्तुलित रूपमा अघि बढाउनुपर्ने बताइन्। झापाका सङ्गीत दासले उत्पादन वृद्धि, कृषि, उद्योग र उद्यमशीलतालाई आर्थिक समृद्धिको आधारका रूपमा प्रस्तुत गरे भने भरतपुरका मोहम्मद अली मियाँले भ्रष्टाचार नियन्त्रणलाई मुलुकको प्रमुख आवश्यकता भएको बताए।
सहभागीहरूको साझा अपेक्षा सुशासन, राष्ट्रियता, रोजगारी, उत्पादनमुखी अर्थतन्त्र र भ्रष्टाचारमुक्त शासन स्थापना रहेको देखिएको छ। उनीहरूले जनताका दैनिक सरोकार सम्बोधन गर्ने नेतृत्व र नीतिको अपेक्षा गरेका छन्।
यसैबीच, उद्घाटन कार्यक्रमअघि परेको वर्षाले केही अवरोध सिर्जना गरे पनि कार्यक्रम सञ्चालन गरिएको थियो। भारी वर्षाका बीच प्रधानमन्त्री वालेन्द्र शाह र पार्टी सभापति रवि लामिछाने छाता ओढेर कार्यक्रमस्थल पुगेका थिए। महाधिवेशनस्थलमा सहभागीहरूलाई गोरखापत्र दैनिक निःशुल्क वितरण गरिएको थियो भने स्थानीय उत्पादनका सामग्रीको प्रदर्शनी तथा बिक्रीसमेत गरिएको थियो।

