वन्यजन्तुका लागि पहिलो पटक सौर्य प्रणालीबाट खानेपानी व्यवस्था
बाँके,असार ८ । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित शमसेरगन्ज–माथेवास चक्ला वनमा वन्यजन्तुका लागि पहिलो पटक सौर्य प्रणालीमार्फत खानेपानीको व्यवस्था गरिएको छ। सरकारद्वारा व्यवस्थित उक्त वन क्षेत्रमा सौर्य पम्पसहितको पानी पोखरी निर्माण गरिएको हो।
डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताका अनुसार कम्दी जैविक मार्गमा पहिलो पटक सौर्य पम्पसहितको पानी पोखरी निर्माण सम्पन्न गरिएको हो। नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम (ईलम परियोजना)को आर्थिक सहयोगमा ५५ मिटर गहिराइमा बोरिङ गरी पानी निकालिएको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार उक्त पोखरीले वन्यजन्तुको वासस्थान संरक्षणमा सहयोग पुग्नुका साथै वन क्षेत्रमा आगलागी नियन्त्रणमा पनि राहत पुर्याउने अपेक्षा गरिएको छ। बस्तीबाट टाढा रहेको यो पोखरी जैविक मार्ग व्यवस्थापनको नमुना अभ्यासका रूपमा रहने विश्वास व्यक्त गरिएको छ।
डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले करिब १० लाख रुपैयाँको लागतमा २ किलोवाट क्षमताको सौर्य प्रणाली जडान गरी पानी पोखरी निर्माण गरिएको बताउनुभयो। लामो प्रयासपछि वनक्षेत्रमै वन्यजन्तुका लागि दिगो पानी व्यवस्थापन गर्न सफल भएको उहाँको भनाइ छ।
यसअघि पानीको खोजीमा वन्यजन्तु मानव बस्तीतर्फ पुग्दा मानव–वन्यजन्तु द्वन्द्व बढ्ने तथा वन्यजन्तुमाथि आक्रमण हुने जोखिम रहेको थियो। साथै, सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहरमा पानी पिउन जाँदा वन्यजन्तु डुब्ने र मर्ने घटनासमेत हुँदै आएका थिए। चोरी सिकारी समूहबाट पनि वन्यजन्तु जोखिममा पर्ने गरेका थिए।
बाँकेका त्रिशक्ति, भगवती, मधु, अशोक, जनमुखी, रामजानकी, सिद्धेश्वरी र जनकल्याणलगायत सामुदायिक वनमा यसअघि पनि वन्यजन्तुका लागि पानी पोखरी निर्माण गरिए तापनि सौर्य प्रणालीबाट पानी आपूर्ति गरिएको यो पहिलो परियोजना भएको जनाइएको छ।

