सुदूरपश्चिममा ग्यास अभाव छैन, अतिरिक्त सिलिण्डर भण्डारण नगर्न आग्रह
धनगढी, साउन २६ । सुदूरपश्चिम प्रदेशमा खाना पकाउने ग्यासको आपूर्ति मागअनुसार नै भइरहेकाले हल्लाको पछि लागेर अतिरिक्त सिलिण्डर भण्डारण नगर्न प्रशासनले उपभोक्तालाई आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीको नेतृत्वमा आज धनगढीमा गरिएको बजार अनुगमनका क्रममा ग्यास थोकविक्रेतामा नियमित आपूर्ति भइरहेको पाइए पनि माग अस्वाभाविक रूपमा बढेको पाइएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले नेपाल आयल निगम र ग्यास डिलरबाट मागभन्दा बढी आपूर्ति भइरहे पनि ग्यास अभावको हल्लाका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिण्डर भण्डारण गर्दा बजारमा दबाब बढेको बताउनुभयो। केही डिलरमा पर्याप्त मौज्दात रहेको र केहीमा भने अत्यधिक माग देखिएको उहाँको भनाइ छ।
नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख मनोहर डिसीका अनुसार प्रदेशमा मासिक करिब एक लाख सिलिण्डर ग्यास बिक्री हुने गरेकोमा यस वर्ष साउनमै एक लाख २० हजार सिलिण्डर बिक्री भइसकेका छन्। थप ५० हजार सिलिण्डर ग्याससमेत आउने क्रममा रहेको उहाँले जानकारी दिनुभयो।
सुदूरपश्चिममा बिक्री हुने सैपाल र रेडियन्ट ग्यासको आपूर्तिमा कुनै समस्या नरहेको निगमले जनाएको छ। लुम्बिनी प्रदेशबाट आउने ग्यासमा भने हल्लाका कारण माग बढ्दा केही दबाब देखिएको र त्यसको समाधान केही दिनमै हुने जनाइएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका सूचना अधिकारी तारामान रावलले ग्यासको आपूर्ति रोकिएर नभई मागमा अस्वाभाविक वृद्धि हुँदा अभावको हल्ला फैलिएको बताउनुभयो। उहाँले बजार अनुगमनलाई तीव्रता दिइएको जनाउँदै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास सिलिण्डर खरिद गर्न आग्रह गर्नुभयो।

