चार वर्षपछि सन्दीप लामिछाने फेरि नेपाली क्रिकेट टोलीको कप्तान



काठमाडौँ, साउन २६ । मलेसियामा आगामी अगस्ट ३० तारिखदेखि आयोजना हुने एसीसी प्रिमियर कपमा नेपाली क्रिकेट टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नुहुने भएको छ।

नेपाल क्रिकेट सङ्घका अनुसार सन्दीपलाई प्रतियोगिताका लागि नेपाली टोलीको कप्तानको जिम्मेवारी दिइएको हो। एकदिवसीय टोलीको कप्तान बनेसँगै उहाँ चार वर्षपछि पुनः नेपाली टोलीको नेतृत्वमा फर्किनुभएको हो।

प्रतियोगिताका लागि सोमबार सार्वजनिक गरिएको १४ सदस्यीय नेपाली टोलीमा आशिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्शन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहेका छन्।

प्रतियोगिताको खेल तालिकाअनुसार नेपालले पहिलो खेल सेप्टेम्बर १ मा साउदी अरेबियासँग खेल्नेछ। नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ रहेका छन्।

नेपालले समूह चरणको दोस्रो खेल सेप्टेम्बर ३ मा बहराइनसँग, तेस्रो खेल सेप्टेम्बर ५ मा मलेसियासँग र चौथो खेल सेप्टेम्बर ७ मा हङकङसँग खेल्नेछ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। अर्को समूहमा संयुक्त अरब इमिरेट्स, ओमान, सिङ्गापुर, कुवेत र कतार रहेका छन्। प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने टोलीले सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा स्थान बनाउनेछन्।

प्रतिक्रिया दिनुहोस्