वैध लगानी र सम्पत्तिको सुरक्षा सरकारको प्रमुख दायित्व : अर्थमन्त्री वाग्ले



काठमाडौँ, साउन २६ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताउनुभएको छ।

अर्थ मन्त्रालयमा सोमबार २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग भएको छलफलमा उहाँले नेपालमा थप लगानी गर्न, उद्योग विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न र आधुनिक प्रविधि भित्र्याउन आग्रह गर्नुभयो। सरकारले निजी क्षेत्रलाई आवश्यक सहयोग गर्ने उहाँले स्पष्ट पार्नुभयो।

अर्थमन्त्री वाग्लेले लगानीकर्ताले आफ्नो सम्पत्ति सुरक्षित रहेको, नियम स्थिर रहेको, कर प्रणाली पूर्वानुमानयोग्य रहेको र राज्य साझेदारका रूपमा उभिएको विश्वास गर्न सक्नुपर्ने बताउनुभयो। यस्तो विश्वास निर्माण भए मात्रै ठूलो लगानी भित्रिने र उद्योग विस्तारमार्फत आर्थिक रूपान्तरण सम्भव हुने उहाँको भनाइ थियो।

उहाँले सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताउँदै उद्यमीले उठाएका विषय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय गरिने जानकारी दिनुभयो। यसका लागि अर्थ मन्त्रालयमा ‘रेस्पोन्स डेस्क’ स्थापना गरी निरन्तर अनुगमन गरिने उहाँले बताउनुभयो।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रसँगको संवाद समस्या समाधान नभएसम्म निरन्तर अघि बढ्ने उल्लेख गर्दै उद्योगी सफल हुँदा समाजले गर्व गर्ने, लगानीकर्ता सुरक्षित महसुस गर्ने, करदाता सम्मानित हुने र युवालाई उद्यम गर्न प्रेरणा मिल्ने वातावरण निर्माण सरकारको लक्ष्य रहेको बताउनुभयो।

छलफलमा सूर्य नेपाल, एनसेल आजियाटा, गोर्खा ब्रुअरी, हिमालय एअरलाइन्स, होङ्शी शिवम् सिमेन्ट, डाबर नेपाल, युनिलिभर नेपाल, एसियन पेन्ट्स नेपाल, बोटलर्स नेपाल, नेपाल वेलहोप एग्रि–टेक, टर्किस एयरलाइन्सलगायत २० ठूला करदाता कम्पनीका प्रतिनिधिको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्