किसानका ‘डिजिटल सल्लाहकार’ मोबाइल एप
काठमाडौँ, साउन २६ । स्मार्ट फोनको पहुँच बढेसँगै कृषि क्षेत्रमा मोबाइल एप किसानका लागि डिजिटल सल्लाहकारका रूपमा प्रयोग हुन थालेका छन्। भौगोलिक विकटता र कृषि प्राविधिकको सीमितताबीच किसानलाई मौसम, बजार मूल्य, रोगको जोखिम र खेतीसम्बन्धी सूचना उपलब्ध गराउन यस्ता एप प्रभावकारी माध्यम बनेका हुन्।
कृषकले मोबाइलबाटै कृषि बजारको थोक मूल्य, मूल्य प्रवृत्ति, मौसमसम्बन्धी सल्लाह, सरकारी सेवा तथा अनुदानका जानकारी लिन सक्ने भएका छन्। यसले किसानलाई सही समयमा खेतीसम्बन्धी निर्णय लिन, उत्पादन लागत घटाउन र आम्दानी बढाउन सहयोग पुर्याएको कृषि विज्ञहरूको भनाइ छ।
धादिङकी किसान रूपा सुवेदीले बजार मूल्य मोबाइलबाटै हेर्न थालेपछि व्यापारीसँग मूल्यमा कुरा गर्न सहज भएको बताउनुभयो।विज्ञहरूका अनुसार डिजिटल प्रविधिले किसान र बजारबीचको सूचना असमानता घटाउँदै किसानको सौदाबाजी क्षमता बढाउनसमेत सहयोग गरेको छ।
नेपालमा दुई दर्जनभन्दा बढी कृषि एप प्रयोगमा रहे पनि कतिपय नियमित अद्यावधिक नहुँदा प्रभावकारी बन्न सकेका छैनन्। कृषि क्षेत्रलाई आधुनिक र प्रतिस्पर्धी बनाउन सही सूचना सही समयमा किसानसम्म पुर्याउने डिजिटल प्रविधिको भूमिका महत्वपूर्ण हुने देखिएको छ।

