अनुवाद मात्रै मातृभाषा पत्रकारिता होइन : विज्ञ



काठमाडौँ, साउन २६ । सञ्चार माध्यममा प्रकाशित समाचारलाई मातृभाषामा अनुवाद गर्दैमा त्यसले मातृभाषाको वास्तविक अर्थ र भावना नबोक्ने विज्ञहरूले बताएका छन्।

आदिवासी जनजाति पत्रकार महासङ्घले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनअन्तर्गत ‘विश्वमा मातृभाषा पत्रकारिताको अवस्था र नेपाल’ विषयक छलफलमा विज्ञहरूले मातृभाषा समुदायको पहिचान, संस्कृति, ज्ञान र आवाजसँग जोडिएको विषय भएको बताएका हुन्।

विज्ञ डा. रघु मैनालीले मातृभाषा सञ्चारको माध्यम मात्र नभई पुर्ख्यौली ज्ञान, सीप, संस्कृति, भावना र समुदायको पहिचान संरक्षण गर्ने माध्यम भएको बताउनुभयो। उहाँले मातृभाषी नागरिकका जीवन, सङ्घर्ष र आकाङ्क्षाका कथा उनीहरूकै भाषामा अभिव्यक्त हुने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।

विज्ञ देव सुनुवारले मातृभाषामा पत्रकारिता गर्न भाषा र संस्कृतिसम्बन्धी ज्ञान आवश्यक रहेको बताउँदै यस क्षेत्रमा चुनौतीसँगै पर्याप्त अवसर पनि रहेको उल्लेख गर्नुभयो।

सञ्चारिक समूहकी पूर्व अध्यक्ष विमला तुम्खेवाले मातृभाषा पत्रकारिताको अवस्था क्रमशः सकारात्मक बन्दै गएको बताउनुभयो। युनेस्कोकी प्रतिनिधि अरुणा जोशीले नयाँ पुस्तासँग सहकार्य गर्दै मातृभाषा पत्रकारितालाई आधुनिक, डिजिटल र प्रविधिमैत्री बनाउनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा वरिष्ठ पत्रकार पुष्कर माथेमाले ‘विश्वमा मातृभाषा पत्रकारिताको अवस्था र नेपाल’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। सम्मेलनको पहिलो दिन ‘आदिवासी जनजातिप्रति राज्यको दृष्टिकोण’ विषयमा समेत नीतिगत बहस गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्