पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध, बसमा क्षति
बाजुरा, साउन २६ । बाजुराको जगन्नाथ गाउँपालिका–५ भुकाखोलामा पहिरो खस्दा कर्णाली करिडोर सडक अवरुद्ध भएको छ।
सडक माथिबाट खसेको पहिरोसँगै आएको ढुङ्गाले सुर्खेतबाट हुम्लातर्फ जाँदै गरेको भे १ ख २८३१ नम्बरको यात्रुबाहक बसमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। ढुङ्गाले बसको अगाडिको भागमा लाग्दा क्षति भएको हो।
बसमा चालकसहित सात जना सवार रहे पनि सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेश शाहीले जानकारी दिनुभयो।
अवरुद्ध सडक सञ्चालनका लागि प्रहरी चौकी जुड्डीबाट प्रहरी टोली घटनास्थलमा पुगेर पहिरो हटाउने काम गरिरहेको प्रहरीले जनाएको छ।

