नुवाकोटमा एलपी ग्यासको बिक्री र मौज्दात अनुगमन, कालोबजारी नभएको निष्कर्ष
नुवाकोट, साउन २६ — नुवाकोटमा खाना पकाउने एलपी ग्यासको बिक्री तथा मौज्दात अवस्थाबारे जिल्ला अनुगमन समितिको संयुक्त टोलीले सोमबार जिल्लाका मुख्य बजार क्षेत्रका ग्यास डिपो तथा सप्लायर्समा अनुगमन गरेको छ।
उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय नुवाकोटको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र पत्रकारसहितको संयुक्त टोलीले ग्यासको आपूर्ति, बिक्री तथा मौज्दात अवस्थाको निरीक्षण गरेको हो।
अनुगमनका क्रममा नुवाकोटमा मागअनुसार पर्याप्त मात्रामा ग्यास भित्रिन नसकेको भए पनि विगतका महिनाको तुलनामा आपूर्ति बढेको पाइएको टोलीले जनाएको छ। बजारमा ग्यासको बिक्री तथा आपूर्ति अवस्था पारदर्शी रहेको र कालोबजारी, कृत्रिम अभाव सिर्जना तथा तोकिएकोभन्दा बढी मूल्य लिने जस्ता कैफियत नदेखिएको अनुगमन टोलीको निष्कर्ष छ।
टोलीले ग्यास डिपो तथा सप्लायर्समा रहेको मौज्दात, बिक्रीको अवस्था र उपभोक्तालाई भइरहेको आपूर्तिबारे जानकारी लिँदै बजारमा कृत्रिम अभाव हुन नदिन व्यवसायीलाई सचेत गराएको जनाएको छ।

