नुवाकोटको तादी–५ बाहुनबेँसीमा पहिरोले सडक अवरुद्ध, यातायात सुचारु हुन समय लाग्ने



नुवाकोट, साउन २६ — नुवाकोटको तादी गाउँपालिका–५ बाहुनबेँसीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। मंगलबार बिहान पहिरो खसेर सडक बन्द भएपछि उक्त सडकखण्ड हुँदै सञ्चालन हुने यातायात प्रभावित भएको हो।

पहिरोका कारण तादी गाउँपालिकाको आधाभन्दा बढी भूभाग, दुप्चेश्वर गाउँपालिकाका सबै क्षेत्र तथा पञ्चकन्या गाउँपालिका–४ का नागरिक समेत प्रभावित भएका छन्। सडक अवरुद्ध भएपछि दुप्चेश्वर धाम दर्शनका लागि आएका दर्शनार्थीका सवारीसाधनसमेत बाटोमै रोकिएको दुप्चेश्वर विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

सडक खुलाउन सानो डोजर प्रयोग गरी पहिरो हटाउने काम भइरहेको बताइएको छ। तर पहिरो ठूलो भएकाले यातायात पूर्णरूपमा सुचारु हुन २ घण्टा समय लाग्ने जनाइएको छ।

पहिरो गएको स्थानमा इन्स्पेक्टर लोकराज पाठकसहित प्रहरी टोली पुगेर अवस्थाबारे जानकारी लिएको छ। सडक खुलाउने प्रयास जारी रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्