माग बढेपछि अण्डाको समर्थन मूल्य बढ्यो, किसान अझै लागत मूल्यभन्दा तल



काठमाडौँ, साउन २६— बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य कायम गरेको हो।

सङ्घका अनुसार एक्सएल अण्डाको प्रतिक्रेट ५६० रुपैयाँ, ठूलो अण्डा ५४५ रुपैयाँ र मिडियम अण्डा ५०० रुपैयाँ कायम गरिएको छ। सानो अण्डाको मूल्य भने प्रतिपेटी ३ हजार रुपैयाँ अर्थात् सात क्रेटका लागि तोकिएको छ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको सङ्क्रमण हटे पनि त्यसका कारण ठूलो सङ्ख्यामा कुखुरा मरेपछि अण्डा उत्पादन घटेको छ। उत्पादन घटेसँगै बजारमा अण्डाको माग बढेकाले मूल्य बढाइएको उहाँले बताउनुभयो।

फार्महरूले उपलब्ध गराएको दरका आधारमा समर्थन मूल्य निर्धारण गरिएको भए पनि किसानले अझै लागत मूल्य पाउन नसकेको पोखरेलको भनाइ छ। उहाँका अनुसार एउटा अण्डा उत्पादन गर्न औसत १९ रुपैयाँ १२ पैसा लागत पर्छ। यसअनुसार एक प्रतिक्रेट अण्डाको लागत ५७३ रुपैयाँ ६० पैसा पुग्छ।

बर्डफ्लुका कारण किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको व्यवसायीहरू बताउँछन्। उत्पादन घट्नु, विभिन्न रोगको प्रकोप र लागतअनुसार मूल्य नपाउँदा पछिल्ला केही वर्षदेखि किसान कुखुरापालन व्यवसायबाट पलायन हुन थालेका छन्।

पोखरेलका अनुसार बर्डफ्लुका कारण कतिपय किसानका कुखुरा मरेका छन् भने कुखुरा बाँचेका किसानले समेत अण्डाको उचित मूल्य नपाउँदा ठूलो नोक्सानी व्यहोर्नुपरेको छ। लागत धान्न नसक्दा किसान बैंकको ऋणमा निर्भर हुनुपर्ने अवस्था बढ्दै गएको व्यवसायीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्