मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु, वडाध्यक्षसहित दुई जना पक्राउ



रौतहट, साउन २६ — रौतहटको मौलापुर नगरपालिका–३ मा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएपछि प्रहरीले वडाध्यक्षसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

दुर्घटनामा संलग्न रहेको आरोपमा मौलापुर–३ का वडाध्यक्ष महेश महतो कोइरी र सोही ठाउँका २८ वर्षीय त्रिकिशोर कुश्वाहालाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार दुवै जनालाई सवारी ज्यान मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार गत असार ६ गते मौलापुर–जयनगर सडकखण्डमा कोइरीले चलाएको ना.२५ प १२२५ नम्बरको मोटरसाइकल र कुश्वाहाले चलाएको प्रदेश २–०३–००७ प ६६६५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा कुश्वाहाको मोटरसाइकलको पछाडि सवार करिब २० वर्षीय निरज कुश्वाहा घाइते भएका थिए। उनको उपचारका क्रममा माघ १७ गते मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै मोटरसाइकल चालकलाई प्रहरीले साउन २५ गते नियन्त्रणमा लिएको हो।

दुर्घटनाको कारण, चालकको लापरबाही तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्