हुम्लामा बोलेरो जिप दुर्घटना, तीन जना घाइते
हुम्ला, साउन २६ । हुम्लाको अदानचुली गाउँपालिका–४ लौठीस्थित ठुलाखोला नजिकै बोलेरो जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
अदानचुली गाउँपालिका–५ करगईबाट गाउँपालिकाको केन्द्रतर्फ आउँदै गरेको भे १ च १६८६ नम्बरको बोलेरो जिप घट्टेखोलाको ओरालोमा चिप्लिएर सडकमा पल्टिएको हो। वर्षाका कारण सडक चिप्लो हुनुका साथै खाल्डाखुल्डी रहेको स्थानमा जिप चिप्लिएर दुर्घटना भएको गल्फागाड प्रहरी चौकी श्रीनगरका हवल्दार मानबहादुर अधिकारीले जानकारी दिनुभयो।
जिपमा पाँच जना सवार रहेकामा अदानचुली–५ की २३ वर्षीया बिमला शाही, सोही वडाकी ३५ वर्षीया कालु छत्याल र चंखेली गाउँपालिका–३ का चालक उज्वल बुढा घाइते भएका छन्। घाइतेलाई उद्धार गरी प्राथमिक उपचारका लागि श्रीनगर स्वास्थ्य चौकीमा ल्याइएको छ।
स्वास्थ्य संयोजक बिनोद बुढाका अनुसार बिमला शाहीको बायाँ हातको हड्डी भाँचिएको छ। उहाँलाई थप उपचारका लागि सुर्खेत पठाउने तयारी भइरहेको छ। चालक बुढाको खुट्टामा चोट लागेको छ भने कालु छत्यालको टाउकोमा चोट लागेको छ।
दुर्घटनामा जिपको अगाडिको भाग र बायाँतर्फको सिसामा क्षति पुगेको प्रहरीले जनाएको छ। दुर्घटनापछि स्थानीयवासीले सडकको दुरावस्थाका कारण दुर्घटना भएको आरोप लगाएका छन्।
बाइकोटको उक्त सडकखण्ड निकै ठाडो हुनुका साथै ठाउँ–ठाउँमा ठूला खाल्डाखुल्डी रहेका कारण सवारीसाधन सञ्चालनमा जोखिम हुने गरेको उनीहरूको भनाइ छ। स्थानीयका अनुसार सडकको जोखिमबारे पटक–पटक आवाज उठाउँदै आए पनि सडक सुधारका लागि जिम्मेवार निकायले प्रभावकारी काम गर्न सकेको छैन। सडक स्तरोन्नतिका लागि कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्ष ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। सोही बजेटअन्तर्गत ठेक्का लागे पनि ठेकेदार कम्पनीले काम सुरु नगरेको स्थानीयको आरोप छ।
वडा अध्यक्ष मनरिसी पाण्डेका अनुसार पूर्वाधार विकास कार्यालयमार्फत ताँजाकोट गाउँपालिका–५ का गोपाल बुढाले ठेक्का पाएका थिए। तर, ठेकेदारले काम सुरु नै नगरी सम्झौताको समयावधि सकिएको उहाँले बताउनुभयो।
वडा अध्यक्ष पाण्डेले सडक मर्मतका लागि बजेट विनियोजन भएर पनि काम अघि नबढ्नु सम्बन्धित निकाय र ठेकेदारको लापरबाही भएको आरोप लगाउनुभयो। दुर्घटना भएको स्थान अत्यन्त जोखिमयुक्त रहेकाले सडक मर्मतका लागि गत वर्ष नै ४० लाख रुपैयाँ विनियोजन गरिएको उहाँको भनाइ छ।
स्थानीयले काम गर्न नआएको ठेकेदारसँगको ठेक्का सम्झौता रद्द गरी पुनः ठेक्का आह्वान गरेर भए पनि जोखिमयुक्त सडकखण्ड तत्काल मर्मत तथा स्तरोन्नति गर्न माग गरेका छन्। सडकको अवस्था सुधार नगरे आगामी दिनमा पनि यस्तै दुर्घटना दोहोरिन सक्ने भन्दै स्थानीयले सम्बन्धित कार्यालय र ठेकेदार कम्पनीलाई गम्भीर बन्न आग्रह गरेका छन्। सडककै कारण पुनः दुर्घटना भए त्यसको जिम्मेवारी सम्बन्धित ठेकेदार कम्पनी र सरोकारवाला निकायले लिनुपर्ने वडा अध्यक्ष पाण्डेको भनाइ छ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

