सांसदद्वारा मल, ग्यास, महँगीदेखि सेवा प्रवाहसम्मका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण
काठमाडौं, साउन २६ — प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले किसानका लागि मल तथा सिँचाइको व्यवस्था, बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव, बढ्दो महँगी र सर्वसाधारणले सरकारी सेवामा भोग्नुपरेको सास्ती समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
सांसदहरुले समयमा मल र सिँचाइ उपलब्ध हुन नसक्दा कृषि उत्पादन प्रभावित भइरहेको भन्दै भारतबाट सहज रूपमा मल आयात गर्ने व्यवस्था मिलाउन र किसानलाई समयमै मल उपलब्ध गराउन माग गर्नुभयो।
यस्तै, विद्युत् महसुल, राहदानी, सवारी चालक अनुमति पत्र, मालपोतलगायतका सेवामा सर्वसाधारणले लामो समयदेखि भोग्दै आएको समस्या समाधान गरी सेवा प्रवाहलाई सहज बनाउन सांसदहरुले सरकारसँग आग्रह गर्नुभयो।
बैठकमा धार्मिक वा अन्य जुनसुकै नाममा हुने हिंसात्मक गतिविधिले जनधनको क्षति हुने भएकाले त्यस्ता गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइएको थियो। सुनसरी तथा तराई–मधेशमा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न पनि सांसदहरुले माग गर्नुभयो।
सांसदहरुले जनताको अपेक्षाअनुसार सरकारको काम प्रभावकारी हुन नसकेको, नागरिकले सहज र प्रभावकारी सेवा सुविधा प्राप्त गर्न नसकेको तथा नागरिक सुरक्षाको विषयमा समेत गम्भीर समस्या देखिएको भन्दै तत्काल सुधारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
बैठकमा ग्रामीण क्षेत्रका सडक, स्वास्थ्य र शिक्षाको अवस्थाबारे पनि सांसदहरुले आवाज उठाउनुभयो। नुवाकोटलगायत विभिन्न ग्रामीण क्षेत्रमा सडक विस्तारको अभावका कारण नागरिकले कष्टकर जीवन बिताउनुपरेको तथा स्वास्थ्य र शिक्षाजस्ता आधारभूत सेवाबाट समेत वञ्चित हुनुपरेको भन्दै सरकारले तत्काल समस्या समाधानका लागि पहल गर्नुपर्ने माग गरिएको छ।
यसैबीच, बैठकको सुरुमै प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर विरोध जनाउनुभयो। प्रधानमन्त्रीले उक्त अभिव्यक्ति सच्याउनुपर्ने र संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गर्दै प्रतिपक्षी सांसदहरुले विरोध जारी राख्नुभएको हो।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले प्रधानमन्त्री शाहको सीमासम्बन्धी अभिव्यक्ति तत्काल फिर्ता लिन र सच्याउन माग गर्दै गत जेठ १७ गतेदेखि सदनमा विरोध गर्दै आउनुभएको छ।
प्रतिपक्षी सांसदहरुले प्रधानमन्त्री लामो समयदेखि संसद्मा उपस्थित हुनुपर्ने माग गरिए पनि सदनमा उपस्थित नभएको तथा उपस्थित हुँदा समेत राष्ट्रिय पोशाक र संसद्को मर्यादा कायम राख्न नसकेको आरोपसमेत लगाउनुभएको छ।

