प्रदर्शनमा ज्यान गुमाएका चार जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय



काठमाडौं, साउन २६ । सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्रकुमार मेहता र सिराहाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।

बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स तथा शववाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण छुट दिने निर्णयसमेत गरेको छ।

त्यस्तै, वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बाराका निर्मलकुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय भएको मन्त्री पोखरेलले बताउनुभयो। पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

यसैगरी, पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णयसमेत भएको छ। सरकारले गठन गरेका विभिन्न आयोग तथा समितिले बुझाएका प्रतिवेदन सार्वजनिक तथा कार्यान्वयन नभएको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री पोखरेलले सरकारलाई बुझाइएका कतिपय प्रतिवेदन सार्वजनिक भइसकेको र बाँकी प्रतिवेदन क्रमशः सार्वजनिक तथा कार्यान्वयन गर्दै जाने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्