नुवाकोटको बाहुनबेसी–खरानीटार सडकमा राति सवारी आवागमन बन्द
नुवाकोट, साउन २६ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले बाहुनबेसीदेखि खरानीटारसम्मको सडक खण्डमा रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ ।
भारी तथा अति भारी वर्षाका कारण उक्त सडक खण्डमा अचानक पहिरो, बाढी तथा गेग्रान आई सडक अवरुद्ध हुने र दुर्घटनाको जोखिम बढ्दै गएपछि मानवीय क्षति न्यूनीकरण तथा सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखी सवारी आवागमन बन्द गरिएको प्रशासनले जनाएको छ ।
तादी, दुप्चेश्वर र पञ्चकन्या गाउँपालिकाका केही भाग जोड्ने मुख्य सडकका रूपमा रहेको उक्त सडक खण्डमा साउन २६ गतेदेखि अर्को सूचना जारी नभएसम्म राति ८ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक सेवाका सवारीसाधनबाहेक सबै सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारीसाधनलाई भने आवतजावत गर्न दिइनेछ । जिल्ला प्रशासन कार्यालयले वर्षाको समयमा अत्यन्त जरुरी काम नपरी घरबाहिर ननिस्कन तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारण, यातायात व्यवसायी र सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
विपद्सम्बन्धी जानकारी तथा सहयोग आवश्यक परे नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४ र जिल्ला आपत्कालीन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ ।

