गठेँमङ्गल पर्वमा राक्षसको पुत्ला दहन, सरसफाइ र सुखशान्तिको कामना



काठमाडौं,साउन २६ । काठमाडौं उपत्यकाका नेवार समुदायले घण्टाकर्ण चतुर्दशी अर्थात् गठेमङ्गल (गथांमुगः चःह्रे) पर्व मङ्गलबार हर्षोल्लासका साथ मनाएका छन्। घरमा सुख, शान्ति र समृद्धिको कामना गर्दै घण्टाकर्ण राक्षसलाई धपाउने धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार नेवार समुदायले यो पर्व मनाउने गरेका छन्।

नेवार समुदायको मौलिक पर्वमध्ये एक घण्टाकर्ण हरेक वर्ष साउन कृष्ण पक्षको चतुर्दशीका दिन मनाइन्छ। भूतप्रेत पन्छाउने पर्वका रूपमा चिनिए पनि यसलाई सरसफाइ र स्वच्छताको प्रतीकका रूपमा समेत मनाइने संस्कृतिविद्हरू बताउँछन्।

पर्वका अवसरमा नर्कट, पराल तथा छ्वालीबाट घण्टाकर्ण राक्षसको पुत्ला बनाएर दहन गर्ने वा खोलामा लगेर सेलाउने परम्परा छ। तान्त्रिक विधिअनुसार भूत, प्रेत तथा पिशाचलाई बिदाइ गर्ने र तिनको पूजासमेत गर्ने गरिन्छ।

यसै अवसरमा भक्तपुरको दत्तात्रय क्षेत्रमा नेवार समुदायले घण्टाकर्ण राक्षसको पुत्ला दहन गरी गठेमङ्गल पर्व मनाएका छन्।धान रोपाइँ सकिएपछि घरभित्र रहेका दूषित किटाणु तथा नकारात्मक प्रभाव हटाउने विश्वासका साथ विभिन्न धुप बालेर घरमा धुवाँ फैलाउने परम्परा पनि यस पर्वमा रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्