खोलामा पौडी खेल्ने क्रममा तीन बालबालिका बेपत्ता



रौतहट,साउन २६ । रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लाल बकैया खोलामा पौडी खेल्ने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्।

मंगलबार दिउँसो करिब २ बजे खोलामा नुहाउने क्रममा करुनिया निवासी करमे आलमका करिब १० वर्षीय छोरा रमतुलाह, हिसी अकतरकी करिब १० वर्षीया छोरी सबनम खातुन र शेख खुर्सैदकी करिब १० वर्षीया छोरी रौशन खातुन पानीमा डुबेर बेपत्ता भएका हुन्।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमाण्डमा सात प्रहरी घटनास्थल पुगेका छन्। यस्तै, सशस्त्र प्रहरी बल बेस देवाही गोनाहीबाट पाँच जना र सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट नौ जनाको टोली रबर बोर्ड तथा डाइभिङ सामग्रीसहित खोज तथा उद्धारमा परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त गौतमका अनुसार बेपत्ता बालबालिकाको खोजी कार्य जारी छ। प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोलामा खोजी गरिरहेको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट करिब ६ किलोमिटर दक्षिणतर्फ रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्