देवानगञ्ज–कप्तानगञ्ज घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
काठमाडौं,साउन २६ । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि तत्काल न्यायिक आयोग गठन गर्न माग गरेको छ।
पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले घटनाको छानबिनका लागि सरकारले गठन गरेको संयन्त्रप्रति आशंका व्यक्त गर्दै निष्पक्ष न्यायिक आयोग गठन गर्न माग गरेको हो। सरकारी संयन्त्रले घटनाको वास्तविकता बाहिर ल्याउनुको सट्टा कमजोरी लुकाउन सक्ने कांग्रेसको आशंका छ।
बैठकले पीडित परिवारसँग भएको सम्झौताअनुसार चार जनालाई शहीद घोषणा गर्नेबाहेक अन्य विषय कार्यान्वयन नभएको भन्दै सम्झौताका बाँकी बुँदा तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।
कांग्रेस सहमहामन्त्री प्रकाश स्नेहीका अनुसार बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी, सदस्यता अद्यावधिक तथा वितरणलगायत विषयमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ।
धेरै निर्वाचन क्षेत्र र जिल्लामा क्रियाशील सदस्यताको विषय टुंगो लागिसकेको जानकारी दिँदै स्नेहीले कांग्रेस महाधिवेशनको दिशामा अघि बढिरहेको बताउनुभयो।

