भृकुटीमण्डपमा नाइमा नेपाल मोबिलिटी एक्स्पो सुरु, ५५ ब्रान्डका सवारीसाधन प्रदर्शनमा



काठमाडौं,साउन २७ । नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएशनको आयोजनामा एक्स्पो सुरु भएको हो । यो नाइमा आयोजना गरेको दोस्रो एक्स्पो हो ।

आयोजकका अनुसार एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा ५१ वटा स्टलमा ५५ वटा सवारीसाधनका ब्रान्ड प्रदर्शनमा राखिएका छन् । तीमध्ये ४० वटा नयाँ ब्रान्ड तथा नयाँ मोडल रहेको आयोजकले जनाएको छ ।

एक्स्पोमा चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधनसँगै विभिन्न ब्रान्डका नयाँ विद्युतीय कार, विद्युतीय स्कुटर र विद्युतीय व्यावसायिक सवारीसाधन प्रदर्शनमा राखिएका छन् ।

उपभोक्तालाई नयाँ प्रविधि र सवारीसाधनबारे जानकारी दिने उद्देश्यले विभिन्न मोडल एक्स्पोमा प्रस्तुत गरिएको छ । सवारीसाधन खरिदलाई सहज बनाउन बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको समेत सहभागिता रहेको छ । बैंक तथा वित्तीय संस्थाले सवारीसाधन खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा योजनासमेत अघि सारेका छन् ।

त्यसैगरी एक्स्पोमा अटो पार्टपुर्जा, ब्याट्री तथा विद्युतीय सवारीसाधनका लागि आवश्यक चार्जिङ स्टेसनसमेत प्रदर्शनमा राखिएका छन् । एक्स्पोमा सुजुकी, टाटा, टोयोटा, महिन्द्रा, म्याक्सस, किया, निसान, बीवाईडी, एमजी, सिट्रोन, आइकार, हेनरी भोल्ट्स, फोर्थिङ, डेन्जा, केई, होनरी बोमा र बीएआइसीलगायतका चारपाङ्ग्रे सवारीसाधनका ब्रान्ड सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्