मनसुनी वायुको प्रभाव कायमै, देशभर वर्षाको सम्भावना



काठमाडौं,साउन २७ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

हाल देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ। मधेस प्रदेश र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी र मधेस प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने आंशिक बादल लाग्नेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

यस्तै, मधेस तथा कोशी र बागमती प्रदेशका तराई भूभागका केही स्थान र गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। तराईका विभिन्न भूभागमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्