राष्ट्रियसभा बैठक बस्दै, सात संसदीय समितिमा पनि छलफल



काठमाडौं,साउन २७ । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यसूची रहेको छ।

यस्तै, राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नुहुनेछ।

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीसमेत रहेको छ।

यसैबीच, आज विभिन्न सात संसदीय समितिका बैठक पनि बस्दैछन्। अर्थ, उद्योग वाणिज्य तथा श्रम र उपभोक्ता हित, कानुन न्याय तथा मानव अधिकार, महिला तथा सामाजिक मामिला, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा तथा विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका, समस्या तथा चुनौती र आयोगका सिफारिस कार्यान्वयनको अवस्थाबारे छलफल हुनेछ।

कानुन, न्याय तथा मानव अधिकार समितिमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीको मानव अधिकार अवस्थासम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदन पेस गरी छलफल गरिनेछ।

महिला तथा सामाजिक मामिला समितिमा बाल गृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह, वृद्धाश्रम तथा अन्य सामाजिक संस्थाको संस्थागत अवस्था र अनुगमन निष्कर्षमाथि छलफल हुनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ।

अपराह्न १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा गृह मन्त्रालयसम्बद्ध उजुरीमाथि छलफल हुनेछ।
यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिमा विगतका कोप सम्मेलनमा भएका निर्णय तथा सम्झौता र तिनको कार्यान्वयन अवस्थाबारे छलफल हुनेछ। सोही बैठकमा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप ३१) मा नेपालको सहभागिताका लागि भइरहेको तयारीबारे सरकारका सम्बन्धित अधिकारीसँग जानकारी लिने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्