वनमा भेटिएको महिलाको शव पहिचान खुल्न नसकेपछि प्रहरीले स्केच सार्वजनिक गर्यो
हेटौंडा,साउन २७ । हेटौंडा उपमहानगरपालिका–१५ फायरलाइनस्थित सामुदायिक वनमा फेला परेकी एक महिलाको शव पहिचान हुन नसकेपछि प्रहरीले उनको स्केच सार्वजनिक गरेको छ।
गत साउन २२ गते दिउँसो करिब १ः५० बजे सामुदायिक वनमा महिलाको शव फेला परेको थियो। शवको पहिचान तथा सनाखत हुन नसकेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले विशेषज्ञमार्फत स्केच तयार गरी मृतकको हुलिया, कपडा तथा गहनाको विवरण सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार मृतक महिला अन्दाजी ३० देखि ३२ वर्षकी छन्। उनको उचाइ करिब ५ फिट ९ इन्च, तौल ५० देखि ५५ किलो, गहुँगोरो वर्ण, गोलो अनुहार र कालो लामो कपाल रहेको छ । मृतकले गुलाबी रङको कुर्ता र सेतो सुरुवाल लगाएकी थिइन्।
कुर्ताको छातीको अगाडिको भागमा सेतो फुलबुट्टा रहेको थियो। दुवै हातमा हरियो–रातो रङका चुरा, दुवै खुट्टाको बुढी औँलासँगैको दोस्रो औँलामा चाँदीजस्तो देखिने बिछिया, नाकमा फुली र घाँटीमा पहेँलो धातुमा रातो मोती जडित माला रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, बाँया कानमा सुनजस्तो पहेँलो धातुको मुन्द्रा र कपालमा सेतो रङको पुतली आकारको क्लिप रहेको अवस्थामा शव फेला परेको थियो।
प्रहरीले स्केच तथा विवरणका आधारमा मृतकलाई चिन्नुहुने व्यक्ति, आफन्तजन वा घटनाबारे जानकारी भएका व्यक्तिलाई तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।
मृतक महिलाको पहिचान तथा सनाखत गर्न सक्ने व्यक्तिले जिल्ला प्रहरी कार्यालय मकवानपुरको मोबाइल नम्बर ९८५५०९०१५० मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ। प्रहरीले शवको पहिचानसँगै घटनाबारे थप अनुसन्धानसमेत अघि बढाइरहेको जनाएको छ।

