दशौँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि २९ गतेसम्म सुर्खेतमा हुने



काठमाडौँ,साउन २८ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद्को आज बसेको १२५औँ बोर्ड बैठकले प्रतियोगिताको मिति तय गरेको हो।

राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद प्रतियोगिता आगामी पुस १५ गतेदेखि सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।

बैठकले २०औँ एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडी तथा पदाधिकारीको नामावली पनि अनुमोदन गरेको छ।

मन्त्री पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन सम्बन्धित सबै पक्ष एकताबद्ध भएर तयारीमा जुट्न आग्रह गर्नुभयो।

बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, प्रदेश खेलकुद परिषद्का सदस्य–सचिवलगायत बोर्ड सदस्यहरूको उपस्थिति थियो।

परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बैठकमा विभिन्न विषय प्रस्तुत गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्