नुवाकोटमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना, तीन जिल्ला कार्यक्षेत्र



नुवाकोट,मंसिर ८ । नुवाकोटमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना भएको छ। विदुरमा कार्यालय रहने गरी नुवाकोट, रसुवा र धादिङ जिल्लालाई कार्यक्षेत्र तोकिएको छ।

नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभागको पूर्वाधार सुपरिवेक्षण तथा अनुगमन कार्यालय मातहत रहने गरी पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको हो।

नयाँ कार्यालयले तीन जिल्लामा पूर्वाधार विकाससम्बन्धी काम गर्नुका साथै भोटेकोसी बाढीपछि प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनर्स्थापनासम्बन्धी कार्यसमेत गर्ने जनाएको छ।

कार्यालय सञ्चालनको अवसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरी, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायत विभिन्न सरकारी कार्यालयका प्रमुख, सरोकारवाला तथा निर्माण व्यवसायीहरूले धारणा राखेका थिए।

कार्यक्रममा सहभागीहरूले विकास निर्माणका काममा गुणस्तर, पारदर्शिता र प्रभावकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस्