रसुवा बाढीलाई ‘ताम्सालिङ डिजास्टर’ नाम दिन पूर्वमन्त्री तामाङको प्रस्ताव



काठमाडौँ,भदौ २२ । पूर्वमन्त्री हितबहादुर तामाङले रसुवामा भोटेकोशी नदीमा आएको बाढीलाई ‘ताम्सालिङ डिजास्टर’ नाम दिन सकिने बताएका छन्।

तामाङ नागरिक समाजले आइतबार काठमाडौँको बौद्धमा आयोजना गरेको रसुवा बाढीसम्बन्धी छलफलमा पूर्वमन्त्री तामाङले ताम्सालिङ क्षेत्रमा ठूलो विपद् भएकाले यसको नामकरण पनि त्यसैअनुसार गर्न सकिने धारणा राखेका हुन्।

उनले विपद्को वास्तविक भौगोलिक र प्रभाव क्षेत्रलाई समेटेर ‘ताम्सालिङ बाढी’ वा ‘ताम्सालिङ डिजास्टर’ भन्न सकिने बताए। भोटेकोशी–त्रिशूली नदीको नामकरण र यसको बहाव क्षेत्रबारे चर्चा गर्दै उनले यस विपद्को प्रभाव ताम्सालिङ क्षेत्रसँग प्रत्यक्ष जोडिएको उल्लेख गरे।

तामाङले २०७२ सालको भूकम्पमा ३१ जिल्ला प्रभावित हुँदा ताम्सालिङ क्षेत्रका १३ जिल्ला बढी प्रभावित भएको स्मरण गर्दै अहिलेको बाढीले पनि यस क्षेत्रमा ठूलो क्षति पुर्‍याएको बताए। भूकम्पमा करिब सात खर्ब रुपैयाँ बराबरको आर्थिक क्षति भएको उल्लेख गर्दै उनले अहिलेको क्षति पनि त्यसको तुलनामा कम नरहेको दाबी गरे। उनका अनुसार बाढीका कारण विद्युत् उत्पादन गरिरहेका ११ वटा जलविद्युत् आयोजना नष्ट भएका छन्।

पूर्वमन्त्री तामाङले जलवायु परिवर्तन र कार्बन उत्सर्जनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको क्षतिबारे अन्तर्राष्ट्रिय मञ्चमा बलियो आवाज उठाउनुपर्ने बताए। प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुँदा जलवायुजन्य विपद्का कारण नेपालले भोगेको क्षति र विकसित मुलुकको दायित्वबारे स्पष्ट धारणा राख्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य राधिका तामाङले सङ्घीय सरकारले प्रभावकारी समन्वय नगर्दा बाढी प्रभावित क्षेत्रमा ठूलो क्षति भएको आरोप लगाइन्। उनले नुवाकोटको विदुर नगरपालिका सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये रहेको उल्लेख गर्दै उद्धार, राहत र समन्वयमा राज्य संयन्त्र प्रभावकारी हुन नसकेको बताइन्।

उनले अब राहतसँगै प्रभावित परिवारका लागि क्षतिपूर्तिको विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताइन्। अन्तर्राष्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामाले प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा जान लागेकाले बाढीबाट तामाङ समुदायले भोगेको पीडा, क्षति र राज्यले दिनुपर्ने क्षतिपूर्तिको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउन समुदायले सहयोग गर्नुपर्ने बताए। क्षति बेहोरेका समुदायका लागि क्षतिपूर्तिको बलियो दाबी प्रस्तुत गर्न आफूहरू साथ दिन तयार रहेको उनको भनाइ थियो।

तामाङ घेदुङकी वरिष्ठ उपाध्यक्ष सञ्च ब्लोनले राहत वितरणसँगै अब पुनर्स्थापनामा पनि ध्यान दिनुपर्ने बताइन्। विपद्को विषयलाई अन्तर्राष्ट्रिय स्तरमा उठाउन सरकारलाई समुदायको धारणा सुनाउन पत्रकार, कलाकारलगायत सबै पक्षले पहल गर्नुपर्ने उनले बताइन्।
अधिकारकर्मी डा. संग्रामसिंह लामाले बाढीपछिको पुनर्निर्माणमा तामाङ समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरे।

पुनर्निर्माणका लागि सङ्कलन हुने रकमको व्यवस्थापन र प्रयोग पारदर्शी हुनुपर्ने तथा त्यसका लागि बन्ने संयन्त्रमा तामाङ प्रतिनिधित्व आवश्यक रहेको उनले बताए। मानवशास्त्री डा. मुक्तसिंह लामाले उद्धार गरिएका व्यक्तिको तथ्याङ्कमा करिब ४० प्रतिशत तामाङ समुदायका मानिस रहेको दाबी गर्दै प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम तामाङ समुदायको पुनर्स्थापनामा समेत खर्च हुनुपर्ने बताए। ताम्सालिङ क्षेत्रमा जनसङ्ख्याको तुलनामा विपद्बाट तामाङ समुदायको क्षति बढी भएको उल्लेख गर्दै राहत, उद्धार, पुनर्स्थापना र पुनर्निर्माणमा तामाङ समुदाय नछुट्ने गरी साझा धारणा बनाउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा रसुवाका फुर्वा तेन्जिङ तामाङले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य प्रभावकारी हुन नसकेको गुनासो गरे। ११ वटा जलविद्युत् आयोजनामा कार्यरत मजदुरलाई समयमै उद्धार गर्न सकेको भए धेरैको ज्यान जोगाउन सकिने उनको दाबी थियो।

एकद्वार प्रणालीबाट राहत वितरण गर्दा स्थानीय सरकारसमेत निरीह बनेको आरोप लगाउँदै उनले राज्यले अन्य पक्षलाई समेत उद्धारमा परिचालन गर्न दिएको भए थप मानवीय क्षति रोक्न सकिने बताए। उनका अनुसार जलविद्युत् आयोजनाभित्र फसेका केही व्यक्ति अझै सम्पर्कमा आउन सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्