युवा सङ्घको टोली राहत सामग्रीसहित विदुरमा
विदुर, भदौ २२ — बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा राहत वितरण र सरसफाइ अभियान सञ्चालन गर्न युवा सङ्घको टोली राहत सामग्रीसहित नुवाकोटको विदुर पुगेको छ।
टोलीले विदुरस्थित पार्टी कार्यालयमा राहत सामग्री सङ्कलन गरी प्रभावित क्षेत्रमा वितरणको तयारी गरेको छ। साथै, बाढीपछि फोहोर तथा अन्य सामग्री थुप्रिएको देवघाट क्षेत्रमा सरसफाइसमेत गरिएको छ।
सरसफाइका क्रममा बाढीले बगाएर ल्याएका फोहोर तथा अन्य सामग्री हटाउँदै प्रभावित क्षेत्रलाई व्यवस्थित बनाउने काम गरिएको जनाइएको छ। अभियानमा युवा सङ्घका पदाधिकारी, सदस्य तथा स्थानीय कार्यकर्ताको सहभागिता रहेको छ।
विपद्को समयमा संयमता अपनाउँदै प्रभावित नागरिकलाई सहयोग गर्न र राहत तथा पुनःस्थापनाका कार्यमा हातेमालो गर्न अपिल गरिएको छ।

