भोटेकोशीको पीडामा आज राष्ट्रिय शोक
काठमाडौँ, भदौ २२ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाको सम्झनामा सरकारले आज देशभर राष्ट्रिय शोक मनाउँदैछ। राष्ट्रिय शोकका क्रममा सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १३ हजार ३९९ जनाको उद्धार गरिएको छ भने करिब चार हजार १९६ जना अझै सम्पर्कविहीन छन्। बाढीमा एक हजार ३४२ जनाको मानवीय क्षति भएको विवरण प्राप्त भएको छ भने ९८ शवको सनाखत भइसकेको छ।
खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २१ हजार ४६५ सुरक्षाकर्मी परिचालित छन्। उद्धारसँगै घाइते तथा प्रभावितलाई स्वास्थ्य सेवा, राहत र आश्रयको व्यवस्था गरिएको छ।
रसुवा, नुवाकोट र धादिङमा सञ्चालन गरिएका होल्डिङ सेन्टरमा तीन हजार ९१२ जना रहेका छन्। अब भने बेपत्ताको खोजीलाई निरन्तरता दिँदै विस्थापितको पुनर्स्थापना, क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा अन्य संरचनाको पुनर्निर्माण राज्यको मुख्य चुनौती बनेको छ।

