कांग्रेसमा युवापुस्तालाई स्थान दिइएको भन्दै जेनजी प्रतिनिधि उत्साहित



काठमाडौँ, असोज २० । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी जेनजी प्रतिनिधिले पार्टीमा युवापुस्तालाई स्थान दिइएको भन्दै उत्साह व्यक्त गरेका छन्।

कांग्रेसले विधान संशोधनमार्फत केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका २१ जना युवा अनिवार्य निर्वाचित हुने व्यवस्था प्रस्ताव गरेको छ। सभापति गगनकुमार थापाले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा १८ देखि २१ वर्षसम्मका युवालाई समेटेर ‘युथ काउन्सिल’ गठन गर्ने प्रस्तावसमेत गरिएको छ।

तनहुँका अनुप आलेमगरले युवालाई नेतृत्वमा अवसर दिनु पार्टी रूपान्तरणको सङ्केत भएको बताउनुभयो। काठमाडौँ–२ का सुनाबहादुर तामाङले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा समेटेर कांग्रेस अघि बढ्नुपर्ने धारणा राख्नुभयो।

प्युठानका कुमार आचार्य, धनकुटाकी करुणा कटुवाल, बैतडीकी भागीरथी भट्ट, सिन्धुपाल्चोक–२ का दिपेशराज खनाल र पर्वतका सुनील शर्माले पनि युवाको सहभागिता बढेसँगै कांग्रेसमा नयाँ पुस्ताको आकर्षण बढ्ने अपेक्षा व्यक्त गर्नुभएको छ। उनीहरूले अग्रजको अनुभव, युवाको ऊर्जा, महिला तथा अन्य समुदायको समान सहभागितासहितको कांग्रेस बन्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्