आज हरिबोधिनी एकादशी, तुलसी र भगवान् विष्णुको विशेष पूजा गरिँदै



काठमाडौँ, मङ्सिर ४ गते । आज कार्तिक शुक्ल एकादशीका अवसरमा देशभर तुलसीको पूजा आराधना तथा भगवान् विष्णुको विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ।

हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु आज ब्युँझने धार्मिक विश्वास रहेकाले यस दिनलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिन्छ। यस अवसरमा तुलसीसँग भगवान् दामोदर (विष्णु)को विवाह गराउने वैदिक सनातन परम्परा छ।

चार महिनाअघि हरिशयनी एकादशीका दिन घरघरमा रोपिएको तुलसीलाई आज गाईको गोबर र रातो माटोले मठ सिँगारी फूलमालाले सजाएर पूजा गरिन्छ। तुलसी विष्णुप्रिया भएकाले भगवान् विष्णुसँग तुलसीको विवाह गराउने परम्परा रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।

आजका दिन व्रतालुले अन्न नखाई सखरखण्ड, पिँडालु र वनतरुललगायत फलाहार गरी व्रत बस्ने चलन छ। किसानले तुलसीको मठमा उखु गाडेर पूजा गर्ने परम्परा पनि छ। धार्मिक मान्यताअनुसार आजको व्रत, स्नान, दान र पूजाले पुण्य प्राप्त हुने तथा पापबाट मुक्ति मिल्ने विश्वास गरिन्छ।

हरिबोधिनी एकादशीका अवसरमा काठमाडौँ उपत्यकाका चार नारायण—चाँगुनारायण, शेषनारायण, इचँगुनारायण र विशङ्खुनारायणमा विशेष मेला लाग्ने गर्दछ। बूढानीलकण्ठ नारायणस्थानमा पनि आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्ने मठका मठाधीश स्वामी निगमानन्दले बताउनुभएको छ।

उपत्यकाका प्रमुख नारायण मन्दिरसँगै देशभरका विष्णु तथा नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्दछ। चार महिनादेखि गरिँदै आएको तुलसी पूजा पनि यस पर्वसँगै समापन हुने धार्मिक परम्परा छ।

प्रतिक्रिया दिनुहोस्