फापरलाई आधुनिक कृषि उद्योग र ग्रामीण अर्थतन्त्रसँग जोड्न विज्ञहरूको जोड



काठमाडौँ, मङ्सिर ४ । हिमाली तथा पहाडी क्षेत्रको रैथाने बाली फापरलाई परम्परागत खाद्य परिकारमा मात्र सीमित नराखी आधुनिक कृषि उद्योग, पोषण सुरक्षा र ग्रामीण अर्थतन्त्रको आधार बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

काठमाडौँ विश्वविद्यालयको धुलिखेल परिसरमा आयोजित ‘हिमालयन बकह्विट सिम्पोजियम २०२६’ मा नेपाल र चीनका वैज्ञानिक, किसान तथा उद्यमीहरूले फापरको आनुवंशिक संरक्षण, उन्नत खेती प्रविधि, प्रशोधन र बजारीकरणका सम्भावनाबारे छलफल गरेका हुन् ।

कार्यक्रममा विशेषगरी तिते फापरको औषधीय तथा पोषण महत्व, जलवायु अनुकूलन क्षमता र व्यावसायिक उत्पादनबारे चर्चा भएको थियो ।

मुस्ताङका किसानलाई उन्नत खेती प्रविधि र गुणस्तरीय बीउमा प्राविधिक सहयोग गर्दै फापरको उत्पादन तथा गुणस्तर वृद्धि गर्ने प्रतिबद्धता पनि जनाइएको छ । हिमाली फापरको पहिचान र ब्रान्डिङ गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पुर्‍याउन सके किसानको आयआर्जन बढ्ने विज्ञहरूको भनाइ छ ।

कार्यक्रममा फापरको आनुवंशिक विविधता, बीउ संरक्षण, लाभदायक जीवाणुको प्रयोग र विभिन्न खाद्य परिकारबारे अनुसन्धान प्रस्तुत गरिएको थियो । साथै नेपाल र चीनमा उत्पादित फापरजन्य खाद्य सामग्री आदानप्रदान गर्दै प्रशोधन, प्याकेजिङ र गुणस्तर सुधारका विषयमा अनुभव साटासाट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्