उपत्यकाका छ स्थानमा जुनसुकै कम्पनीका ग्यास सिलिन्डर साट्न पाइने



काठमाडौं,असोज २६ । दसैँका बेला उपभोक्तालाई खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन काठमाडौं उपत्यकाका छ स्थानमा आइतबारदेखि जुनसुकै कम्पनीका ग्यास सिलिन्डर साट्ने व्यवस्था गरिएको छ । यस व्यवस्थाअन्तर्गत उपभोक्ताले आफ्नो खाली सिलिन्डर लगेर अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सक्नेछन् ।

सिलिन्डर साट्न बिहानैदेखि तोकिएका स्थानमा उपभोक्ताको लामो लाइन लागेको थियो । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार टाढाटाढाबाट आएका धेरै उपभोक्ताले ग्यास साटेर लगेका छन् । ग्यास अभाव खेपिरहेका उपभोक्ताले ग्यास लगेका र तत्काल उपलब्ध गराउन नसकिएकालाई कुपन दिएर सोमबार आउन भनिएको उहाँले जानकारी दिनुभयो ।

सङ्घका अनुसार बालाजुस्थित नेपाल ग्यास उद्योग, पेप्सिकोलास्थित सगर ग्यासको गोदाम, सुकेधारास्थित बाबा ग्यासको डिपो, सिफलस्थित एभरेस्ट तथा सुगम ग्यासको केन्द्र, कलङ्कीस्थित साईबाबा तथा श्रीकृष्ण ग्यासको गोदाम र ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदामबाट सिलिन्डर साट्न सकिने व्यवस्था गरिएको छ ।

यी स्थानमा फरक कम्पनीका सिलिन्डर साट्दा उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । दसैँमा ग्यासको अभाव हुन नदिन तथा उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले आगामी सप्तमीसम्म सिलिन्डर साट्ने व्यवस्था गरिएको हो ।

नेपाल आयल निगम, नेपाल एलपी ग्यास उद्योग सङ्घ, जिल्ला प्रशासन कार्यालय र ग्यास विक्रेता महासङ्घको समन्वयमा सिलिन्डर साटफेरको व्यवस्था मिलाइएको हो । यसबाट दसैँका बेला ग्यासको आपूर्ति सहज हुने र उपभोक्ताले भोग्दै आएको अभाव कम हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्