नुवाकोटको इतिहास समेटिएको ‘ऐतिहासिक नुवाकोट भाग–१’ पुस्तक लोकार्पण
नुवाकोट,असोज २६ । नुवाकोटका शिक्षक रामहरि आचार्यद्वारा लिखित नुवाकोटको इतिहास समेटिएको पुस्तक ‘ऐतिहासिक नुवाकोट भाग–१’ लोकार्पण गरिएको छ।
आइतबार आयोजित कार्यक्रममा जीवितदेवी कुमारी प्रार्थी डङ्गोल, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, विदुर नगरपालिका–१ का वडाध्यक्ष लेनिन रञ्जित, वडा नम्बर २ का वडाध्यक्ष दीपक कायस्थ तथा भैरवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामराज पाण्डेलगायतले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन्।
नुवाकोटको विवरणात्मक इतिहास समेटिएको पुस्तकमा जिल्लाका ऐतिहासिक तथा सांस्कृतिक पक्षको विस्तृत विवरण प्रस्तुत गरिएको छ। पुस्तकले नुवाकोटको इतिहास, सांस्कृतिक सम्पदा र ऐतिहासिक पहिचानबारे जानकारी प्रदान गर्ने अपेक्षा गरिएको छ।
लेखक आचार्यले नुवाकोटको समृद्ध इतिहासलाई व्यवस्थित र प्रमाणिक रूपमा प्रस्तुत गर्ने उद्देश्यले पुस्तक तयार पारेको बताएका छन्। लोकार्पण समारोहमा टिप्पणीकारहरूले पुस्तकले नुवाकोटको ऐतिहासिक पहिचान संरक्षण तथा इतिहासको अभिलेखीकरणमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
‘ऐतिहासिक नुवाकोट भाग–१’ पुस्तकको मूल्य एक हजार रुपैयाँ निर्धारण गरिएको छ।

