दसैँ मनाउन गाउँ फर्किने यात्रुको चाप बढ्यो, नौ दिनमा दुई लाखभन्दा बढी बाहिरिए
काठमाडौँ,असोज २६ । बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घरगाउँ फर्किने यात्रुको चाप बढेको छ । अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका लागि राजधानीमा बसोबास गर्दै आएका मानिस परिवार र आफन्तसँग दसैँ मनाउन गाउँ फर्किन थालेपछि सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको हो ।
नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार असोज १७ देखि २५ गतेसम्म नौ दिनमा नयाँबसपार्कबाट मात्रै दुई लाख सात हजार २५१ यात्रु बाहिरिएका छन् ।
उहाँका अनुसार असोज १७ गते १८ हजार ७२९, असोज १८ गते १९ हजार ५३०, असोज १९ गते २३ हजार १६, असोज २० गते २९ हजार ६०२, असोज २१ गते २२ हजार २८८, असोज २२ गते २५ हजार २०१, असोज २३ गते ३१ हजार २३५, असोज २४ गते १६ हजार ९७० र असोज २५ गते २९ हजार ३८० यात्रु बाहिरिएका हुन् ।
दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवस्थापनमा चुनौती थपिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले सडक अवरोधका कारण सवारीसाधन व्यवस्थापनमा समस्या भएको बताउनुभयो ।
उहाँका अनुसार असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर यातायात आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमै रोकिएका थिए । त्यसले यात्रु ओसारपसार तथा सवारीसाधन व्यवस्थापनमा थप कठिनाइ भएको उहाँले बताउनुभयो ।
महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न तथा यात्रामा निस्कनुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ ।
दसैँ परिवार, आफन्त र समुदायसँग भेटघाट गरी मनाइने प्रमुख चाड भएकाले राजधानीमा बसोबास गर्ने मानिसहरू हरेक वर्ष चाडपर्व नजिकिएसँगै आफ्नो गाउँघर फर्किने गर्छन् । यस वर्ष पनि दसैँ नजिकिँदै गर्दा घर फर्किने यात्रुको सङ्ख्या बढेपछि सार्वजनिक यातायातमा चहलपहलसँगै व्यवस्थापनको चापसमेत बढेको छ ।

