प्रहरी सेवामा नैतिकता, निष्ठा र इमानदारिता पहिलो आवश्यकता : प्रधानमन्त्री शाह
काठमाडौं,असोज २६ । प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि नैतिकता, निष्ठा र इमानदारिता पहिलो आवश्यकता भएको बताउनुभएको छ ।
राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले तालिमका क्रममा सिकेका ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्न दीक्षित प्रहरी निरीक्षकहरूलाई निर्देशन दिनुभयो ।
उहाँले पेसागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो । जिम्मेवारीप्रति जवाफदेही हुनु पनि पेसागत सफलताको महत्त्वपूर्ण आधार भएको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री शाहले देशमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने तथा नागरिकका स्वतन्त्रता र अधिकारको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेको बताउनुभयो । उक्त जिम्मेवारी निर्वाह गर्दा कुनै पनि अनुचित प्रभावमा नपरी भेदभावरहित ढङ्गले कर्तव्यमा प्रतिबद्ध रहन उहाँले प्रहरी निरीक्षकहरूलाई आग्रह गर्नुभयो ।
प्रहरीले नागरिकको भावना र अपेक्षाअनुसार काम गर्नुपर्ने उल्लेख गर्दै उहाँले सङ्गठनप्रति पूर्ण प्रतिबद्ध भई आपसी सहयोग र सहकार्यका साथ जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो ।
सूचना प्रविधिको सही प्रयोगबाट प्रहरीको काम छिटो, सहज, पारदर्शी र प्रभावकारी बनाउन सकिने प्रधानमन्त्री शाहको भनाइ थियो । प्रविधिको सदुपयोगले अपराध अनुसन्धानमा तीव्रता ल्याउनुका साथै घटनालाई समयमै नियन्त्रण गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।
अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री अनुसन्धानका लागि सूचना प्रविधिको उचित प्रयोग आवश्यक रहेको उल्लेख गर्दै उहाँले यसमा प्रहरी सङ्गठनको नेतृत्व र प्रशिक्षणको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । सरकारले अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन तथा प्रहरीप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री शाहले दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै सफल कार्यकाल र उज्ज्वल भविष्यको कामना गर्नुभयो । प्रहरी सेवामा आबद्ध रहन निरन्तर प्रेरणा र सहयोग प्रदान गर्ने परिवारजनप्रति पनि उहाँले आभार व्यक्त गर्नुभयो ।
समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए ।

