इलाममा धारिलो हतियार प्रहारबाट एक पुरुषको हत्या
इलाम,असोज ३१ । इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहारबाट एक पुरुषको हत्या भएको छ।
स्थानीय ५५ वर्षीय कमल परियार आफ्नै घरको बरण्डामा मृत फेला परेका हुन्। उनको दाहिने खुट्टा, बायाँ हात र टाउकोमा धारिलो हतियारले प्रहार गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
शनिबार बिहान ८ः३० बजे स्थानीयले घटनाबारे जानकारी गराएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान अघि बढाएको छ। घटनास्थलबाट एउटा हतियारसमेत बरामद गरिएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार परियार विगत चार वर्षदेखि घरमा एक्लै बस्दै आएका थिए। हत्यामा संलग्न व्यक्ति हाल फरार रहेकाले प्रहरीले खोजी तीव्र पारेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

