मुस्ताङ हुँदै दसैँमा ३५ करोडका भेडा–च्याङ्ग्रा निकासी



मुस्ताङ,कात्तिक २ । यस वर्षको दसैँको अवसरमा मुस्ताङ हुँदै करिब ३५ करोड रुपैयाँ मूल्य बराबरका भेडा तथा च्याङ्ग्रा बिक्रीका लागि निकासी भएका छन्। कृषि तथा पशु विकास कार्यालयका अनुसार यस वर्ष मुस्ताङको बाटो हुँदै १३ हजार २७९ भेडा, च्याङ्ग्रा तथा अन्य पशु बेसीतर्फ झारिएको हो।

कार्यालय प्रमुख डा. लालमणि अर्यालका अनुसार निकासी भएका पशुमध्ये ११ हजार १६४ च्याङ्ग्रा र दुई हजार ११५ भेडा छन्। मुस्ताङबाट २२ करोड रुपैयाँभन्दा बढी र कर्णाली प्रदेशका डोल्पा, मुगु तथा जुम्लाबाट करिब १३ करोड रुपैयाँ मूल्य बराबरका भेडा, च्याङ्ग्रा र माउ भेडा यही मार्ग हुँदै निकासी भएका छन्।

कार्यालयका अनुसार मुस्ताङबाट मात्रै सात हजार ९६४ च्याङ्ग्रा र एक हजार २०४ भेडा निकासी भएका छन्। मुस्ताङका किसानले पालेका खोरपाला तथा तिब्बतबाट कोरला नाका हुँदै भित्र्याइएका ४०० भन्दा बढी भेडा–च्याङ्ग्रा मुस्ताङका व्यापारीले पोखरा र काठमाडौंलगायतका सहरमा बिक्रीका लागि पठाएका छन्।

त्यसैगरी डोल्पाबाट दुई हजार ६८० च्याङ्ग्रा र ८७१ भेडा, जुम्लाबाट ३०० च्याङ्ग्रा तथा मुगुबाट ३२० च्याङ्ग्रा र ४० भेडा निकासी गरिएको छ।

कार्यालयका अनुसार यस वर्ष च्याङ्ग्राको औसत मूल्य प्रतिगोटा ३३ हजार रुपैयाँ, भेडाको २२ हजार रुपैयाँ र माउ भेडाको १० हजार रुपैयाँ कायम गरिएको थियो। दसैँमा मासुको माग बढ्ने भएकाले हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा बिक्रीका लागि विभिन्न सहरमा ल्याउने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्