छहरे-टोखा सडकखण्डमा दुर्घटनाग्रस्त गाडी तादी गाउँपालिकाको भएको पुष्टि



नुवाकोट,कात्तिक २ । छहरे-टोखा सडकखण्ड अन्तर्गत शिवपुरी गाउँपालिका–८ स्थित काफलडाँडामा दुर्घटनाग्रस्त गाडी तादी गाउँपालिकाको सरकारी गाडी भएको पुष्टि भएको छ । दुर्घटनाग्रस्त अवस्थामा फेला परेको बा १ झ ५१८५ नम्बरको उक्त गाडी शनिबार साँझ दुर्घटनामा परेको स्थानीयले बताएका छन्।

दसैँको फूलपातीका दिन काठमाडौँबाट नुवाकोट आउने क्रममा गाडीको ब्रेक फेल भएपछि दुर्घटना भएको तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले पुष्टि गर्नुभएको छ।

अध्यक्ष तामाङका अनुसार दुर्घटनाका बेला गाडीमा गाउँपालिकाका उपाध्यक्षसहित केही व्यक्ति सवार थिए। दुर्घटनामा परे पनि सबै जना सकुशल रहेको उहाँले जानकारी दिनुभयो।

आइतबार बिहान छहरे–टोखा सडकखण्डअन्तर्गत काफलडाँडामा सरकारी नम्बर प्लेटको गाडी दुर्घटनाग्रस्त अवस्थामा देखिएपछि घटनाबारे चासो बढेको थियो। दुर्घटनापछि गाडीमा सवार व्यक्तिहरू घटनास्थलमा नभेटिएको बताइएको थियो।

अध्यक्ष तामाङले दुर्घटनाग्रस्त गाडी व्यवस्थापन गर्ने प्रयास भइरहेको बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्