हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना



काठमाडौं,कात्तिक १९ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ ।

मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा पनि आंशिक बदली हुने सम्भावना रहेको छ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

रातिको समयमा गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

यसैगरी, तराईका भूभाग, उपत्यका तथा खोँचमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्