वायु प्रदूषण बढ्न सक्ने भन्दै प्लास्टिकजन्य फोहर नजलाउन काठमाडौँ महानगरको आग्रह
काठमाडौँ,कात्तिक १९ । जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुनसक्ने जोखिम बढ्ने भन्दै काठमाडौँ महानगरपालिकाले प्लास्टिकजन्य फोहरमैला नजलाउन आग्रह गरेको छ ।
महानगरपालिकाको वातावरण विभागले वायु प्रदूषणका प्रमुख कारणमध्ये सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा निर्माण कार्यबाट उत्पन्न धुलो, उद्योग तथा कलकारखानाबाट निस्कने धुवाँधुलो र खुला रूपमा प्लास्टिकजन्य फोहर जलाउँदा निस्कने धुवाँ रहेको जनाएको छ ।
वातावरण विभागका प्रमुख सरिता राईले वायु प्रदूषणका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम तथा खोकीका बिरामी र दीर्घरोगी बढी जोखिममा पर्ने भएकाले प्रदूषण नियन्त्रणका मापदण्डविपरीतका कार्य नगर्न तथा नगराउन आग्रह गर्नुभएको छ ।
महानगरपालिकाले सवारीसाधन प्रचलित प्रदूषण मापदण्डभित्र रहेर सञ्चालन गर्न, नियमित मर्मतसम्भार गरी धुवाँ उत्सर्जन कम गर्न तथा निर्माणजन्य सामग्री सडक र फुटपाथमा नथुपार्न अनुरोध गरेको छ ।
त्यस्तै, उद्योग, कलकारखाना तथा अस्पतालले महानगरपालिकाको प्रदूषण नियन्त्रण मापदण्ड, २०८१ ले तोकेको वायु गुणस्तर तथा धुवाँसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने र उद्योगहरूमा वायु प्रदूषण कम गर्ने उपकरण प्रयोग गर्नुपर्ने विभागले जनाएको छ ।
महानगरपालिकाले वातावरण स्वच्छ राख्न र जनस्वास्थ्यमा पर्नसक्ने जोखिम न्यूनीकरण गर्न सबै नागरिक तथा सम्बन्धित निकायलाई प्रदूषण नियन्त्रणका उपाय अपनाउन आग्रह गरेको छ ।

