किस्पाङमा आधारभूत अस्पताल निर्माणमा रेडक्रस सकारात्मक, बाढी पुनर्लाभका लागि समझदारी
नुवाकोट,कात्तिक २० । किस्पाङ गाउँपालिकामा आधारभूत अस्पताल निर्माण तथा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको पुनर्लाभ र पुनर्स्थापनाका लागि गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
२०८३ कात्तिक १९ गते गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष अर्जुनप्रसाद न्यौपाने, नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाका सभापति हरि श्रेष्ठ र केन्द्रीय सभापति डा. विशालकुमार भण्डारीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघका नेपाल प्रमुख साक्षीका रूपमा उपस्थित हुनुहुन्थ्यो । समझदारी दुई वर्षका लागि कायम रहनेछ ।
कार्यवाहक अध्यक्ष न्यौपानेले आधारभूत अस्पताल निर्माणका लागि गाउँपालिकाले जग्गा प्राप्त गरिसकेको र विस्तृत आयोजना प्रतिवेदनसमेत तयार भएको जानकारी दिनुभयो । हाल काहुले स्वास्थ्य चौकीबाट चिकित्सकीय तथा दूरचिकित्सा सेवा सञ्चालन भइरहेको भन्दै उहाँले अस्पताल निर्माणपछि स्थानीयवासीले सहज रूपमा थप स्वास्थ्य सेवा पाउने अपेक्षा व्यक्त गर्नुभयो ।
अस्पताल निर्माण तथा स्वास्थ्य सेवा विस्तारका लागि गाउँपालिकाले गरेको अनुरोधप्रति नेपाल रेडक्रस सकारात्मक रहेको छ । बाढी प्रभावित क्षेत्रका नागरिकलाई समयमै उपचार उपलब्ध गराउन तथा विकट बस्तीका बासिन्दालाई टाढा जानुपर्ने बाध्यता कम गर्न आधारभूत अस्पतालले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सभापति डा. भण्डारीले संस्थाले पुनर्निर्माण तथा जीविकोपार्जनका क्षेत्रमा सहयोग गर्न सक्ने बताउनुभयो । सडक तथा राजमार्ग निर्माणबाहेक अन्य पुनर्निर्माण र जीविकोपार्जनसम्बन्धी कार्यमा रेडक्रसले भूमिका निर्वाह गर्न सक्ने उहाँको भनाइ थियो ।
समझदारीअनुसार बाढी प्रभावित घरपरिवारलाई बहुउद्देश्यीय नगद सहायता उपलब्ध गराइनेछ । मृत्यु वा बेपत्ता भएका परिवारमध्ये विधवा, अनाथ बालबालिका तथा ज्येष्ठ नागरिक भएका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँ सहायता प्रदान गरिनेछ ।
त्यस्तै, वडा नं. ५ का प्रभावित घरपरिवारलाई अधिकतम १२ महिनासम्म घरभाडा सहायता उपलब्ध गराइनेछ । चार सदस्यीय परिवारलाई मासिक १५ हजार रुपैयाँ घरभाडा सहायता दिने व्यवस्था गरिएको छ । संक्रमणकालीन आवास निर्माणका लागि नगद सहायता, प्राविधिक तालिम र परामर्शसमेत प्रदान गरिनेछ ।
समझदारीपत्रमा खानेपानी प्रणालीको मर्मत, विद्यालय तथा सामुदायिक पूर्वाधार पुनर्स्थापना, भग्नावशेष व्यवस्थापन, शीतकालीन तयारी सामग्री वितरण, सुरक्षित निर्माण तालिम, जीविकोपार्जन पुनर्स्थापना तथा विपद् जोखिम न्यूनीकरणका कार्यक्रम समावेश छन् ।
अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघको अपिलअन्तर्गत सम्भव भएमा दुई वर्षभित्र प्रभावित परिवारका स्थायी आवास निर्माणमा समेत सहयोग गर्ने प्रतिबद्धता नेपाल रेडक्रसले जनाएको छ । समझदारी कार्यान्वयन, समन्वय तथा अनुगमनका लागि पाँच सदस्यीय संयुक्त समन्वय तथा कार्यक्रम सञ्चालन समिति गठन गरिनेछ ।

