एनपिएलमा आज पोखरा–विराटनगर र कर्णाली–लुम्बिनी भिड्दै
काठमाडौं,कात्तिक २६ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्याह्न १२ः३० बजे पोखरा एभेन्जर्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ।
त्यस्तै, दोस्रो खेलमा अपराह्न ५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्।
आजको पहिलो खेल दुवै टोलीका लागि प्रतियोगिताको प्लेअफ सम्भावना जीवित राख्न महत्वपूर्ण छ। हाल तालिकाको छैटौँ स्थानमा रहेको विराटनगरले पाँच खेलमध्ये दुईमा जित र तीनमा हार बेहोरेको छ। आठौँ स्थानमा रहेको पोखराले भने पाँच खेलमध्ये एकमा मात्र जित निकाल्दा चार खेलमा पराजय भोगेको छ।
दोस्रो खेलमा कर्णाली याक्सलाई प्लेअफ सम्भावना कायम राख्न जित्नैपर्ने दबाब छ। पाँच खेल खेलेको कर्णालीले दुईमा जित र तीनमा हार बेहोर्दै सातौँ स्थानमा रहेको छ।
यता, लुम्बिनी लायन्सको प्लेअफ सम्भावना तुलनात्मक रूपमा बलियो देखिएको छ। पाँच खेलबाट तीन जित, एक हार र वर्षाका कारण एक खेलमा अङ्क बाँडेको लुम्बिनी तालिकाको तेस्रो स्थानमा छ।
प्रतियोगितामा आठ टोली सहभागी छन्। एनपिएलको जारी संस्करण मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।

